१० मंसिर २०८१, सोमबार
आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश स्तरीय टी–२० क्रिकेट छनोट प्रतियोगितामा दाङलाई १४ रनले पराजित गर्दै पाल्पा जिल्ला सेमिफाइनलमा पुगेको छ ।
भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पाल्पाले २० ओभरको खेलमा ७ विकेट क्षतिमा ११९ रनको योगफल बनायो ।
पाल्पाका दिनेशजंग बुद्धमगरले अविजित २७, संजीव चित्राकारले २७, रुपेश बश्यालले २३ र सागर थापाले २० रन बनाए । बलिङमा दाङका अमित तामाङ, विरु घर्तीमगर, विष्णुसिंह ठकुरी, पजविर सिंह र तुलाराम घर्तीले समान १/१ विकेट लिए ।
पाल्पाले दिएको १२० रनको लक्ष्य पछ्याएको दाङले २० ओभरमा ९ विकेट गुमाएर १०५ रन मात्र बनाउन सक्यो ।
उसका लागि विराट भण्डारीले २३, विष्णुसिंह ठकुरीले २१ र सुशान्तसिंह थापाले १८ रन बनाए ।
बलिङमा पाल्पाका रुपेश बश्यालले ३, सुरेश गोदार र मोहन भुसालले २/२विकेट लिए ।