१२ मंसिर २०८१, बुधबार
राष्ट्रपति विद्या भण्डारीले काठमाडौंको भृकुटी मण्डपमा आयोजित ‘१५ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा तेस्रो प्राङगारिक कृषि मेला’को उद्घाटन गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा बिहीबारबाट सुरु भएको सो मेलाको शुक्रबार औंपचारिक रुपमा उद्घाटन गरेकी हुन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मुलुकको निर्यात व्यापारलाई बढाउन यस्ता मेलाहरुले सघाउ पुर्याउने विश्वास व्यक्त गरे । उनले राष्ट्रिय उद्योगहरुको विकास गर्दै अन्तर्राष्ट्रिय लगानी भित्र्याएर मुलुकको उद्योग क्षेत्रको विकास गर्ने प्रतिवद्धता पनि जनाए ।
स्वदेशी वस्तुको प्रयोग गर्न आह्वान गर्दै सो मेला आयोजना गरिएको नेपाल घरेलु तथा साना उद्योग महासंघका निवर्तमान अध्यक्ष सुरेश प्रधानले जानकारी दिए । बिहीबारबाट सुरु भएको ५ दिनसम्म चल्ने मेलामा २ सय ५ वटा स्टल राखिएका छन् । महासंघका निवर्तमान अध्यक्ष प्रधानले मेलामा ५० वटा कृषिसम्बन्धि सामग्रीको स्टल रहेको पनि बताए । त्यसैगरी मेलामा भारत, चीन, पाकिस्तान, बंगलादेशलगायतले पनि स्टल राखेको छ ।
नेपाल सरकारको प्रत्यक्ष सहयोगमा आयोजना गरिएको मेलामा नेपालमै उत्पादित, अर्गानिक कृषि सामग्रीहरु, हस्तकलाका सामानहरु मुख्य आकर्षणको रुपमा राखिएको छ । मेलामा प्रत्यक्ष रुपमा ५ करोड बराबरको आर्थिक कारोबार हुने र करिव २ लाखले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।