राप्रपाको स्वाभिमान यात्राको समापन आज

होमल्याण्ड खबर

२०७५ चैत्र १ गते, शुक्रबार ०८:०० मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टीको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा आज समापन हुँदैछ । गत फागुन १५ गते ताप्लेजुङबाट सुरु भएको यात्रा काठमाडौंको भृकुटीमण्डपमा एक कार्यक्रमकाबीच यात्रा समापन हुन लागेको हो ।

आज यात्राको समापन स्वाभिमान यात्रा ललितपुरबाट सुरु हुँदै भक्तपुर पुग्ने र त्यहाँबाट पुनः काठमाडौं फर्कने कार्यक्रम रहेको राप्रपाले जानकारी दिएको छ ।

आज बिहान ७ः३० बजेबाट नै लावालस्कर स्वाभिमान यात्रा ललितपुरबाट प्रारम्भ भई भक्तपुर पुग्नेछ । यात्रा भक्तपुरबाट काठमाडौं फर्केर शहरका विभिन्न स्थान हुँदै डिल्लीबजारमा हुने कलश यात्रा सहित भृकुटीमण्डपमा आमसभामा परिणत हुनेछ ।

यात्रा सञ्चालन हुने देहायका रुटहरुमा केही समय सवारी आवागमनमा बाधा उत्पन्न हुन सक्ने भएकाले सो पार्टीले क्षमा याचना गर्दै वैकल्पिक रुट प्रयोग गर्न अनुरोध गरेको छ ।

हिन्दु राष्ट्रको पुनःस्थापना, राजा सहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलन, संघीयता बारे राष्ट्रिय जनमतसंग्रह, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य, ०४७ पछिका उच्च पदस्थ राजनीतिक र प्रशासनिक व्यक्तिको सम्पत्ति छानबिन, विद्यमान आरक्षणको व्यवस्थामा परिवर्तन गरि आर्थिक रुपमा विपन्नलाई आरक्षण दिइनुपर्ने लगायतका माग राखी राप्रपाले १५ फागुनदेखि ताप्लेजुङबाट यात्रा सुरु गरेको थियो।

अध्यक्ष कमल थापाले नेतृत्व गरेको यात्रामा ७० वटा भन्दा बढी सवारी साधन र ५०० यात्री नियमित सहभागी भएका थिए । १५ दिनमा दुई हजार ८१० किमि यात्रा गरेको छ ।