विप्लव समुहका गतिविधि चैत महिना भित्र नियन्त्रण गरिन्छः प्रधानमन्त्री ओली

होमल्याण्ड खबर

२०७५ चैत्र ११ गते, सोमबार १४:५८ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समुहका गतिविधि चैत महिना भित्र नियन्त्रण गरिसक्ने बताएका छन् ।

सोमबार बानेश्वरमा बसेको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को संयुक्त संसदीय दलको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् ।

उनले भने, ‘उहाँहरु सहमतिमा आए ठिकै छ नत्र चैत भित्रै सरकारले नियन्त्रण गर्छ । विकास निर्माणमा, शिक्षा स्वास्थ्यमा अवरोध,चन्दा माग्ने,मान्छे मार्ने अनि हंसिया हथौडा अंकित झण्डा प्रयोग गर्ने ? यस्तो प्रवृतिलाई सरकारले नियन्त्रण गर्छ ।’

साथै उक्त बैठकमा प्रधानमन्त्री ओलीले संसदको हिंउदे अधिवेशन सकिएकोले सांसदहरुलाई जिल्ला र क्षेत्रमा जान निर्देशन दिएका छन् ।

उनले भने, ‘तपाईंहरु जिल्ला र क्षेत्र जानुहोस् । सरकारले गरेका कामहरुको प्रचार गर्नुहोस् । जनतामा भएका कुरा लुकाएर नभएका कुराको प्रचार गरिएको छ । त्यसको खण्डन गर्नुहोस् । जनताका कुरा सुन्नुहोस् । आगामी बर्षको नीति र कार्यक्रमका लागि आफ्नो क्षेत्रका योजना र बजेटको फेहरिस्त बोकेर काठमाडौं फर्कनुहोस् ।’

अब पार्टी एकताका लागि धेरै समय नलाग्ने भएकोले त्यसै अनुसार जनता र कार्यकर्तालाई सन्देश दिन प्रधानमन्त्री ओलीले आग्रह गरेका थिए ।