लगानी सम्मेलन सफल पारेपछि व्यापार सम्मेलन गर्नुपर्छ : प्रधानमन्त्री ओली

होमल्याण्ड खबर

२०७५ चैत्र १४ गते, बिहीबार ११:०० मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी लगानीकर्तालाई प्रोत्साहित गर्ने सरकारको नीति भएको बताउँदै आसन्न लगानी सम्मेलनलाई सफल बनाउनुपर्ने बताएका छन् । बुधबार राति नेपाल टेलिभिजनको जनतासँग प्रधानमन्त्री कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले लगानीकर्तालाई आफ्नो मुनाफा लैजान समेत उपयुक्त वातावरण हुने र नेपाललाई समेत फाइदा हुनेगरी दुवै पक्षलाई विन विनको अवस्था सिर्जना हुने बताए ।
नेपाल कानुनी रुपमा पनि सकारात्मक भएको र व्यवहारिक रुपमा पनि सहज भएको उल्लेख गर्दै अरु मुलुकले गरेजस्तो भीसामा दम्भी व्यवहार पनि नेपालले नगर्ने बताए ।
कम्युनिष्ट पार्टीको नाम जोडिएको सरकार भएकोले अहिले लगानी आउने कुरामा विपक्षीले प्रश्न उठाएको सन्दर्भमा बोल्दै प्रधानमन्त्रीले आलोचना गर्नेहरुको समयको अवस्था पनि आफूहरुले देखिसकेको बताए । उनले अहिलेकै सरकारको पालामा विकासको बहस भइरहेको जनाउँदै आफ्नो यसअघिको कार्यकालमा पनि यति चर्चा नभएको बताए ।
उनले शास्त्रीय कुरा मात्रै गरेर नहुने चर्चा गर्दै नेपालमा उत्पादन बढाउनुपर्ने आवश्यकता औंल्याए । उत्पादन बढेपछि नै अरुसँग व्यापारका बारेमा कुरा गर्न सकिने उनको तर्क थियो । अहिले विदेशका उत्पादन यहाँ ल्याएर बेचेर दलाली गर्ने मात्रै काम भइरहेको उल्लेख गर्दै आफैं आफ्नो उत्पादन बाहिर लग्ने अवस्थामा पुग्नुपर्ने उनले बताए ।
कतिपय क्षेत्रमा विदेशी लगानी ल्याउन नहुने भनेर स्वदेशी लगानीकर्ताले चासो दिएको सन्दर्भमा प्रधानमन्त्रीले यसबारेमा चासो हुनु स्वाभाविक भएको बताउँदै तर कुनैपनि सामान ५ प्रतिशत मात्रै उत्पादन गरेर बाँकी सामान आपूर्ति गर्न अप्ठेरो पर्ने भएकोले बाँकी ९५ प्रतिशत माग पूरा गर्नेलाई पनि ठाउँ दिनुपर्ने तर्क गरेका थिए । उनले अहिलेको लगानी सम्मेलनमा ६ वटा मुख्य विषयमा लगानीको लागि सरकारले आग्रह गरेको बताउँदै ती ६ वटा मुख्य विषय अन्तर्गत नै सबैजसो अन्य विषय पर्ने बताए ।
उनले स्वदेशी र विदेशी लगानीकर्ता कसैलाई पनि विभेद नहुने चर्चा गरे । उनले विदेशी सामान ल्याएर नेपालमा दलाली गर्ने काम अहिले भइरहेको जनाउँदै अब विदेशी पूँजी, ज्ञान र बुद्धिलाई यहाँ ल्याएर यही उत्पादन बढाउने पक्षमा सरकार रहेको जनाए ।
उनले आसन्न लगानी सम्मेलन सफल पार्नका लागि सबैले सहयोग गर्नुपर्ने चर्चा गर्दै आगामी दिनमा लगानी सम्मेलनको साटो व्यापार सम्मेलन गर्ने अवस्था सिर्जना गर्नुपर्ने बताए ।