१ मंसिर २०८१, शनिबार
प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले लुटपाटमा संलग्न विप्लव समूहलाई समर्थन गरेको भन्दै प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसको आलोचना गरेका छन्।
प्रधानमन्त्री ओलीले हुँदै नभएको विप्लवको लुटेरा समूहलाई पार्टीको नामाकरण गरेर काँग्रेस आफैं समस्यामा परेको दावी गरे। कहिँकतै दर्ता नभएको विप्लव समूहलाई नेकपालाई काँग्रेसले समर्थन गर्नु दुःखद भएको प्रधानमन्त्री ओलीको भनाइ छ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर ३ ले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले काँग्रेस हेर्दाहेदै ओरालो लागेर कहाँ पुग्यो भनी टिप्पणी गरे।
प्रधानमन्त्री ओेलीले अपराधिक गिरोहको रुपमा गतिविधि गरिरहेको विप्लव नेतृत्वको समूहलाई प्रतिवन्ध लगाइएको उल्लेख गर्दै सरकारले समाजमा हुने कुनै पनि अपराधिक गतिविधिलाई नियन्त्रण गर्ने चेतावनी दिए। उनले गृहमन्त्रीले विप्लव समूहलाई नियन्त्रण गरेकोमा विरोध गर्ने काँग्रेस बैचारिक रुपमा समेत स्खलित भएको दावी गरे।
प्रधानमन्त्री ओलीले पार्टी भित्रको सांगठनिक एकीकरणको काम केही दिन भित्रै टुंग्याउने बताए। उनले पार्टी भित्रको असन्तुष्टिलाई सार्वजनिक ठाउँमा प्रचार गर्दै हिड्ने अनुशासनहिन काम नगर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए।
उनले देशीविदेशी प्रतिक्रियावादीहरुले पार्टीलाई एकतावद्ध हुन नदिने कोसिस गरिरहेको उल्लेख गर्दै सचेत रहनुपर्ने बताए। प्रधानमन्त्री ओलीले सरकारले मुलुकको समृद्धिका लागि वैदेशिक लगानी र प्रविधि दुवै भित्र्याउन चाहेको स्पष्ट पारे।