कप्तान मेस्सीको दुई गोलले बार्सिलोना विजयी

होमल्याण्ड खबर

२०७५ चैत्र १७ गते, आईतवार १०:५० मा प्रकाशित

लिड लिडर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा स्पानियोललाई पराजित गरेको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले आफ्नै घरेलु मैदानमा स्पानियोललाई २–० ले पराजित गरेको हो ।

बार्सिलोनाका लागि कप्तान लियोनल मेस्सीले दुई गोल गरे ।

खेलको ७१ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यसपछि ८९ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २–० को सहज जित दिलाए ।

जितसँगै शीर्ष स्थानको बार्सिलोनाले २९ खेलबाट ६९ अंक जोडेको छ । दोस्रो स्थानको एट्लेटिको मड्रिडको ५६ अंक रहेको छ । स्पानियोलको भने २९ खेलबाट ३४ अंकसहित तालिकाको १४ औं स्थानमा छ ।

शनिबार राति नै भएका अन्य खेलमा लिगको दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडले अलाभेसलाई ४–० गोलअन्तरले पराजित गर्दा सेल्टा भिगोले भिल्लारियललाई ३–२ ले र लेगानेसले गेटाफेलाई २–० गोलअन्तरले पराजित गरेका छन् ।