आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताः प्याराग्लाइडिङमा ५५ खेलाडीले प्रतिष्पर्धा गर्ने

होमल्याण्ड खबर

२०७५ चैत्र २५ गते, सोमबार १४:०४ मा प्रकाशित

प्रदेश नंं ५ का विभिन्न जिल्लामा आगामी वैशाख ५ देखि ११ गतेसम्म हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा प्याराग्लाइडिङतर्फ ५५ खेलाडीको सहभागिता रहने भएको छ। आठौँ राष्ट्रिय खेलकूद प्रदेश नं. ५ मा हुने भए पनि पूर्वाधार नभएकाले प्याराग्लाइडिङका खेल गण्डकी प्रदेशको राजधानी पोखरामा आगामी वैशाख ६ गतेदेखि शुरु हुने राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ। नेपालको राष्ट्रिय खेलकूदको इतिहासमै पहिलोपटक राष्ट्रिय खेलकूदमा प्याराग्लाइडिङ खेल समावेश गर्न लागिएको हो। कुल छ स्वर्ण पदकका लागि विभागीय टोली नेपाली सेना र प्रदेशका तर्फबाट ४६ पुरुष र नौ महिला खेलाडी सहभागी हुने नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ सङ्घ (नेफा)का महासचिव शैलेन्द्र राउतले जानकारी दिए।

प्याराग्लाइडिङतर्फ क्रसकन्ट्री र एक्यूरेसी विधा गरी दुई विधामा सञ्चालन हुनेछ। पुरुष खेलाडीतर्फको एक्यूरेसीमा ‘टिम एक्यूरेसी’ र ‘इन्डिभिजुअल एक्यूरेसी’ तथा क्रसकन्ट्रीतर्फ ‘टिम क्रसकन्ट्री’ र ‘इन्डिभिजुअल क्रसकन्ट्री’ सञ्चालन हुने महासचिव राउतले जानकारी दिए। महिलातर्फ भने ‘इन्डिभिजुअल क्रसकन्ट्री’ र ‘इन्डिभिजुअल एक्यूरेसी’मा प्रतिष्पर्धा हुनेछ। प्याराग्लाइडिङमा प्रदेश नं १ बाट नौ, प्रदेश ३ बाट ११, गण्डकी प्रदेशबाट १३, कर्णाली प्रदेशबाट चार र सुदूरपश्चिम प्रदेशबाट चार खेलाडी सहभागी हुनेछन् भने भने विभागीय टोली नेपाल आर्मीबाट १४ खेलाडी सहभागी छन्।

यस पटक प्याराग्लाइडिङ प्रतिष्पर्धामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले पुरुषतर्फ १० र महिला चार गरी १४ जनाको टिम तयार गरेको छ। त्रिभुवन आर्मी क्लबबाट प्रतिष्पर्धामा रहेका पुरुष दुई खेलाडी भने १८ औं एशियाडमा रजत पदक विजेता खेलाडी रहेका छन्। एशियाड रजत पदक विजेता विशाल थापा र विजय गौतम त्रिभुवन आर्मी क्लबबाट प्रतिष्पर्धामा उत्रनेछन्।

त्यस्तै १८ औँ एशियाली खेलकूदमा रजत विजेतामध्ये युवा खेलाडी यूकेश गुरुङ र शसिल गुरुङले गण्डकी प्रदेशबाट खेल्ने छन्। १८ औं एशियाडमा सहभागी महिला खेलाडी सविता तामाङ, प्रतिभा भुजेल र त्रिशा श्रेष्ठ बमजनले गण्डकी प्रदेशबाटै सहभागिता जनाउने छन्। एशियाड पदक विजेता तथा टिम कप्तान विमल अधिकारी आठौँ राष्ट्रिय खेलकदूमा निर्णायकको भूमिकामा रहने महासचिब राउतले जानकारी दिए।

प्याराग्लाइडिङ खेल आगामी वैशाख ९ गतेसम्म सञ्चालन हुनेछ। गत भदौमा इन्डोनेसियामा आयोजना भएको १८ औं एशियाली खेलकूदमा पहिलो पटक सहभागिता जनाएको प्याराग्लाइडिङले नेपाललाई ऐतिहासिक रजत पदक दिलाएको थियो।रासस