१ मंसिर २०८१, शनिबार
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रधानमन्त्री केपी ओलीको भनाई र काम गराईमा कतै पनि मेल नखाएको आरोप लगाएका छन् ।
नेपाल प्रेस युनियन लमजुङ शाखाद्वारा आयोजित पत्रकार सम्मेलनमा महामन्त्री कोइरालाले ओलीको भनाई एकातिर र काम गराई अर्कोतिर भएको आरोप लगाएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भाषणमा भ्रष्टाचारको गन्ध आए सह्य हुन्न भनेपनि वाइडबडी काण्ड, सुन काण्ड, बुढीगण्डकी जलविद्युत आयोजनालाई प्रतिष्पर्धा नगराई ठेक्का दिएको जस्ता गहन विषयमा कुनै वास्ता नगरेको आरोप लगाएका छन् । प्रधानमन्त्री ओलीले भाषणमा जनमैत्री विकाश भनेपनि आकाश छुने करको बृद्धि, चर्को मुल्य बृद्धि तथा ठप्प भएका विकासका काम हेर्दा सरकार असफल भएको बताएका छन् ।
त्यसै गरी उनले सरकारको गतिविधि संघीयता विरोधी भएको आरोप लगाए। कोइरालाले मुलुक अप्ठ्यारो अवस्थामा पुगेको बेला दुई तिहाईको दम्भमा सरकारले प्रदेशलाई विश्वास गर्न नसकेर सबै अधिकार केन्द्रमा राख्ने प्रपञ्च राख्दा सरकारको गतिविधि नै संघीयता विरोधी देखिएको आरोप लगाएका छन् ।