बालुवाटारको सरकारी जग्गामा आफ्नो संलग्नता नभएको महासचिव पौडेलको दावी (विज्ञप्ति सहित)

होमल्याण्ड खबर

२०७५ चैत्र २७ गते, बुधबार १६:४१ मा प्रकाशित

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले बालुवाटारको सरकारी जग्गा हिनामिनामा आफु सहित आफ्नो परिवारको कुनैसंलग्नता नरहेको दावी गरेका छन् ।
सञ्चार माध्यममा ललिता निवासको सरकारी जग्गा नेकपा महासचिव पौडेलले हिनामिना गरेको समाचार प्रकाशन भएपछि उनले प्रेस विज्ञप्तिमार्फत् आपत्ति जनाएका छन् ।
महासचिव पौडेलले बुधवार बिज्ञप्ति जारी गर्दै ‘२०६१ पुस २९ गते प्रचलित कानुनबमोजिम बिक्री गर्ने व्यक्तिको नाममा मालपोत कार्यालयमा दर्ता श्रेस्ता कायम रहेको र सम्बन्धित मालपोत कार्यालयले खरिद बिक्री गर्न मिल्ने यकिन गरी रजिष्ट्रेशन लिखत पारित गरी प्रचलित कानुनबमोजिम लाग्ने राजस्व लिई रजिष्ट्रेशन पास गरिदिएको जग्गा खरिद गरी लिएको हो’ भनेका छन् ।
भूमाफियामार्फत् महासचिव पौडेलले ललितानिवास परिसरमा छोरा नवीनको नाममा ८ आना जग्गा खरिद गरेको र सत्तारुढ दलकै शक्तिशाली नेता ललिता निवासको जग्गा हिनामिनासम्बन्धी छानबिनको घेरामा तानिएको भन्दै विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएको थियो ।