१० मंसिर २०८१, सोमबार
आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटका लागि जारी एसिया छनोटको तेस्रो खेलमा मलेसियाले नेपाललाई ९३ रनको लक्ष्य दिएको छ । क्वालालम्पुरस्थित बायुमास ओभलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेसँगै पहिलो ब्याटिङ गरेको मलेसियाले ३३ ओभर ५ बलमा पूरै विकेट गुमाउँदै ९२ रन बनाउन सक्यो ।
मलेसियाका लागि इजत ड्यानियल फकिरीले सर्वाधिक ३७ रनको योगदान गरे । ५५ बल खेलेका उनले ३ चौका र १ छक्काको सहयोगमा ३७ रन बनाएका हुन् । त्यस्तै कप्तान मोहमद अमिरले १३ रन जोड्दा हाकिम हर्शनले १० रनको योगदान गरे । मलेसियाका लागि त्यस बाहेकका कुनै पनि खेलाडीले दोहोरो रन जोड्न सकेनन् । बलिङतर्फ नेपालका पवन शराफ र कौशल मल्लले सर्वा्धिक तीन–तीन विकेट लिए । त्यस्तै कमल सिंह ऐरीले दुई विकेट लिँदा सागर ढकालले एक विकेट झार्न सफल भए । मलेसियाविरुद्ध जित निकाल्दै नेपाल विश्वकपमा छनोट हुने सम्भावना कायम राख्ने योजनमा छ । २ खेलबाट २ अंक जोडेको नेपाल तेस्रो स्थानमा छ । दुवै खेल गुमाएको मलेसिया पाँचौ स्थानमा रहेको छ ।