आज नेविसंघले विभिन्न कार्यक्रम गरी स्वर्ण जयन्ती मनाउँदै

होमल्याण्ड खबर

२०७६ बैशाख ६ गते, शुक्रबार ११:५० मा प्रकाशित

नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आफ्नो स्थापनाको स्वर्ण जयन्ती आज देशभर मनाउन लागेको छ ।

वि.सं. २०२७ वैशाख ६ गते पार्टी प्रतिबन्धित अवस्थामा रहेको बेला काठमाडौंको स्वयम्भूस्थित सत्तलमा सन्त नेता कृष्णप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा नेविसंघको स्थापना भए यता नेविसंघले वैशाख ६ गतेलाई आफ्नो स्थापना दिवस मनाउँदै आएको हो ।

स्वर्ण जयन्तीको अवसरमा नेविसंघ काठमाडौंले पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा उपत्यकास्तरीय शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।

यसैगरी, नेविसंघ निवर्तमान केन्द्रीय समितिले ‘वर्तमान परिस्थिति र नेपाल विद्यार्थी संघको भूमिका’ खुला बहस कार्यक्रम, नेविसंघ पद्यकन्या बहुमुखी क्याम्पसको आयोजनामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम, नेविसंघ धादिङ काठमाडौं सम्पर्क समितिले दीप प्रज्वलन कार्यक्रम, नेपाल ल क्याम्पसको आयोजनामा चियापान तथा दीप प्रज्वलन कार्यक्रम राखिएको छ ।

नेविसंघका विभिन्न जिल्ला समितिले पनि आफ्नो स्थापना दिवस भव्यताका साथ मनाउन लागेका छन् ।