आठौं राष्ट्रिय खेलकुद भोली सम्मः स्वर्णमा आर्मीको राज

होमल्याण्ड खबर

२०७६ बैशाख १० गते, मंगलवार १६:१४ मा प्रकाशित

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता प्रदेश ५ मा जारी छ । बुधबार विशेष कार्यक्रमकाबीच प्रतियोगिताको समापन हुनेछ । प्रतियोगिताको १४ औं दिनसम्म २०७ स्वर्णसहित कुल ७१४ पदकको टुंगो लागिसकेको छ ।

पदक तालिकामा विभागीय टिम त्रिभुवन आर्मी क्लबले एकछत्र राज गरिरहेको छ । सर्वाधिक पदक जितेको आर्मीले ८७ स्वर्ण, ५५ रजत र ४४ कास्य पदकसहित कुल १८६ पदक जितेको छ ।

सशत्र प्रहरीको एपीएफ क्लबले ३५ स्वर्ण, ३६ रजत र ४४ कास्यसहित कुल ११५ पदक जितेर दोस्रो स्थान ओगटेको छ । त्यस्तै तेस्रो स्थानको नेपाल पुलिस क्लबले ३३ स्वर्ण, ३३ रजत र ३२ कास्य पदकसहित कुल ९८ पदक जितेको छ ।

प्रदेश ३ ले १६ स्वर्ण, २४ रजत र ३९ कास्य पदक गरी ७९ पदक हात पारेको छ । प्रदेश ५ ले ७ स्वर्ण,१७ रजत र ३३ कास्यसहित ५७ पदक जित्दा सुदुरपश्चिम प्रदेशले ७ स्वर्ण,५ रजत र १९ कास्यसहित ३१ पदक जितेको छ ।

गण्डकीले ६ स्वर्ण,११ रजत र २९ कास्यसहित ४६ पदक जितेको छ भने प्रदेश २ ले ६ स्वर्ण,७ रजत र १४ कास्यसहित २७ पदक जितेको छ । प्रदेश १ ले ४ स्वर्ण, १६ रजत र ३७ कास्यसहित ५७ पदक जित्दा एनआरएनएले ४ स्वर्ण र ४ कास्यसहित ८ पदक जितेको छ । कर्णाली प्रदेशले २ स्वर्ण,२ रजत र ६ कास्यसहित १० पदक जितेको छ ।

आठौं २८ सय २५ पुरुष तथा २३ सय ८६ महिला गरी ५२ सय ११ खेलाडी सहभागी रहेका छन् । यस पटक ३७२ स्वर्ण, ३७२ रजत र ५६३ कांस्यका लागि प्रतिस्पर्धा भईरहेको छ ।