राष्ट्रपति भण्डारी नौ दिने राजकीय भ्रमणका लागि आज चीन जाँदै

होमल्याण्ड खबर

२०७६ बैशाख ११ गते, बुधबार ०९:२२ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारी नौ दिने राजकीय भ्रमणका लागि आज बुधबार चीन जाँदै छिन् ।

चीनका राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा उनी बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन त्यसतर्फ जान लागेकी हुन् ।

राष्ट्रपति भण्डारी बुधबार बिहान ११ बजे चीन जाने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नौ दिने चीन भ्रमणमा रहँदा राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षी सिजिङपिङसँग भेटवार्ता गर्नेछिन्। उनले बेइजिङमा आयोजना हुने नेपाली तथा चिनियाँ उद्योगीहरूको संयुक्त बैठकलाई पनि सम्बोधन गर्नेछिन् ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले बेइजिङमा आयोजना हुने दोस्रो अन्तर्राष्ट्रिय विकाससम्बन्धी बेल्ट एण्ड रोड फोरममा सहभागी हुनुका साथै फोरमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी क्रमसः उनले अन्तर्राष्ट्रिय बागबानी मेलाको उद्घाटन समारोहमा सहभागी हुनुका साथै त्यहाँ रहेको नेपाली पेभिलियनको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणका लागि राष्ट्रपतिलगाएत परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सांसद तथा उच्च अधिकारीहरूसमेतको सहभागिता रहने बताइएको छ ।

भ्रमण सकेर राष्ट्रपति भण्डारी वैशाख १९ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।