१ मंसिर २०८१, शनिबार
नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले किनेको प्रधानमन्त्री निवास बालुवाटार परिसरको आठ आना जग्गा सरकारले रोक्का गरेको छ ।
पूर्वसचिव शारदाप्रसाद त्रितालको नेतृत्वमा गठित आयोगको सिफारिसका आधारमा मन्त्रिपरिषदको निर्णय अनुसार कार्यान्वयन गर्नका लागि उक्त जग्गा रोक्का गरिएको भूमिसुधार मन्त्री पद्मा अर्यालले बताएकी छन् ।
मन्त्री अर्यालले मोही कायम भएर लालपुर्जा बनेर किनबेच हुँदै छैटौं मान्छेको रूपमा पौडेलले जग्गा किनेको प्रष्ट देखिएकोले पनि मोही कायम भएको जग्गामा सम्भवत अब प्रश्न उठ्न नमिल्ने बताएकी छन् ।
ललिता निवासमा रहेको महासचिव पौडेलका छोरा नवीनको नामको जग्गा मोहीसँग किनेकोले पनि वैधानिक भएको उनको भनाई छ तर मालपोत कार्यालयको अभिलेखले भने मन्त्रीको भनाईको खण्डन गरेको छ ।
हाल नविन पौडेलको नाममा भएको कित्ता मोहीको रुपमा चिनाइएकी माया प्रजापतिको नाममा रहेको पाइएको छ ।
माया प्रजापति सक्कली मोही नै हुन कि नक्कली मोही हुन यसको बारेमा कुनै स्पष्ट जानकारी हुन सकेको छैन ।
मोही प्रजापतिले शोभाकान्त ढकालकी पत्नी उमा कुमारी ढकाल र रामकुमार सुवेदीकी पत्नी माधवी सुवेदीका नाममा पास गरेको अभिलेख छ ।
त्रिताल आयोगले भूमाफिया भनेर रामकुमार सुवेदी र शोभाकान्त ढकाललाई इंगित गरेका छन् ।
तसर्थ उनीहरुले खडा गरेका नक्कली मोही प्रजापति हुन् कि भन्ने प्रशस्त शंकाका आधारहरु देखिएका छन् ।
२०६१ सालमा उक्त कित्ताको ८ आना जग्गा उमा ढकाल र माधवी सुवेदीबाट पौडेलले जम्मा ४ लाखमा किनेको डिल्लीबजार मालपोत कार्यालयको अभिलेखमा सुरक्षित छ ।
नेपालका पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता सुवर्ण समशेर र उनको परिवारको नाममा कुनै समयमा रहेको २९९ रोपनी जग्गाको चर्चा यतिबेला चल्न थालेको छ ।