करोडौं मूल्य बराबरको चिनी गोदाममै थन्कियो

होमल्याण्ड खबर

२०७६ बैशाख १९ गते, बिहीबार ११:२४ मा प्रकाशित

पश्चिम नवलपरासीका चिनी उधोगमा उत्पादन भएको करोडौं मूल्य बराबरको चिनी गोदाममा थन्किएको छ । नेपाली चिनीले बजार नपाएपछि उक्त करोडौं मूल्य बराबरको चिनी गोदाममै थन्किएको हो ।

उधोगीका अनुसार, अघिल्लो वर्ष साल्ट ट्रेडिङले विदेशबाट भित्र्याएको चिनी अझै बजारमा रहेको छ । नेपाली उधोगबाट उत्पादित चिनीले विदेशबाट आयात भएको चिनीसँग प्रतिस्पर्धा गर्न नसक्दा उत्पादित चिनी बिक्री नभएको उधोगको भनाइ छ ।
पश्चिम नवलपरासीमा इन्दिरा, बाग्मती, लुम्बिनी र मोहिनी गरी चार ठूला चिनी उधोग रहेका छन् । यसमध्ये यस वर्ष इन्दिरा र बाग्मती चिनी उद्योग मात्र अहिलेसम्म सञ्चालनमा रहेका छन् ।

मोहिनी चिनी उद्योग वर्षौंदेखि सञ्चालन हुनसकेको छैन भने लुम्बिनी चिनी उधोग पनि यस वर्ष केही समय सञ्चालनमा आएर पुनः बन्द रहेको अवस्था छ । यसअनुसार लुम्बिनी चिनी उधोगमा पनि केही चिनी उत्पादन भएर थन्किएको बताइएको छ ।
त्यस्तै पश्चिम नवलपरासीको प्रतापपुरमा रहेको इन्दिरा चिनी उद्योगमा अहिले करीब २१ हजार क्विन्टल चिनी बिक्री नभएर गोदाममा थन्किएको नवलपरासीको उद्योग बिक्री शाखाले बताएको छ ।