फोरम नेपाल र नयाँ शक्तिबीच २३ गते पार्टी एकता गर्ने आन्तरिक तयारी

होमल्याण्ड खबर

२०७६ बैशाख १९ गते, बिहीबार १६:५६ मा प्रकाशित

संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिबीच पार्टी एकताको आन्तरिक तयारी अन्तिम चरणमा पुगेको बताइएको छ ।

भट्टराई नेतृत्वको नयाँ शक्ति र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबीच आउँदो २३ गते पार्टी एकता गर्नेगरि तयारी अन्तिम चरणमा पुगेको हो ।

स्रोतका अनुसार दुई दलको वार्ता समिति स्तरमा छलफल टुंगिएको छ । संघीय परिषद्को अध्यक्षता डा. बाबुराम भट्टराई र केन्द्रीय समितिको अध्यक्षता उपेन्द्र यादवले गर्ने सहमति जुटेको र पार्टीको पदाधिकारीमा फोरमबाट १६ र नयाँ शक्तिबाट ९ जना रहने बताइएको छ।

वार्ता टोलीले एकीकृत पार्टीको नाम समाजवादी पार्टी प्रस्ताव गरिएको तर त्यसको अगाडि नेपाल थप्ने कि नथप्ने भन्ने कुरामा भने निर्णय भइनसकेको नेताहरुले जनाएका छन् ।

यदपि शुक्रबार शीर्ष नेताहरु बसेपछि एकता प्रक्रियाले अन्तिम रुप लिने बताइएको छ ।

अघिल्लो पटक यी दुई पार्टीहरुको एकता अन्तिम चरणमा आएर भाँडिएको थियो ।