सरकारले संघीयता चलाउन सकेन : गगन थापा

होमल्याण्ड खबर

२०७६ जेष्ठ ३ गते, शुक्रबार ०७:०० मा प्रकाशित

नेपाली कांग्रेसका नेता गगन थापाले मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रता विरोधी भएको बताएका छन् । थापाले केपी ओली नेतृत्वको सरकारले संघीयता चलान नसकेको आरोप लगाएका छन्। कांग्रेसले सुरु गरेको जनगरण अभियानका क्रममा सुर्खेतमा सम्बोधन गर्दै थापाले यस्तो आरोप लगाएका हुन्। 

‘केपी ओली नेतृत्वको सरकार इतिहासकै बलियो हो’, उनले भने, ‘संविधानको कार्यान्वयन, संरचना निर्माण र ठूला आयोजनाका काम गरेर जनतासमक्ष परिणाम देखाओस् भन्ने अपेक्षा कांग्रेसको हो। तर, सरकारले संघीयताको मर्मअनुसार काम गर्न सकेन।’

उनले राजासँग आधा शक्ति रहेको, राजाले दिएको संविधान, राजाले चाहेको बेला निलम्बन गर्न सक्ने संविधान टेकेर जनमतका आधारमा बीपीले सरकार चलाएको इतिहासबारे कार्यकर्तालाई जानकारी गराए।

‘संघीय व्यवस्थालाई बलियो बनाउन सरकारले ढंगले काम गर्न सकेन्। कांग्रेसलाई डर त्यहाँ हो’, उनले थपे, ‘संघीय र एकात्मक नेपाल एउटै होइन्। कर्णाली प्रदेश नामको मात्रै बनाइएको छ, यो एक वर्षको अनुभवबाट सरकार संघीयता कार्यान्वयनमा असफल देखिएको छ।’  विगतमा प्रधानमन्त्री ओली संघीयतामा चरम अरुची राख्दै पटकपटक नेपालमा संघीयता नफाप्ने बताउँदै आएकाले सबै तहका सरकारलाई अधिकार नदिइएको दाबी गरे। संघीयता बलियो बनाउन र टिकाउन केन्द्रभन्दा स्थानीय सरकारले काम गर्नुपर्ने उनको भनाइ छ।

‘प्रधानमन्त्रीले संघीयताका आधारभूत कुरालाई स्वीकार गर्न मान्नुभएन्, जसले गर्दा प्रदेश अधिकारबिहिन भएका छन्’ उनले भने, ‘मुख्यमन्त्री प्रधानमन्त्रीका फोटोकपी जस्तै देखिन थाल्नुभएको छ, एकपछि अर्का अधिकार खोसिदै गएको छ। सबैभन्दाबढी काम गर्नुपर्ने प्रदेशलाई कामबिहीन अधिकार, स्रोतबिहीन बनाइएको छ। यसले संघीयतामा हुनुपर्ने परिवर्तन हुन पाइरहेको छैन ।’