महाधिवेशनपछि राजपामा अध्यक्ष मण्डल नरहने

होमल्याण्ड खबर

२०७६ जेष्ठ ५ गते, आईतवार १३:५४ मा प्रकाशित

राष्ट्रिय जनता पार्टी (राजपा) ले महाधिवेशनपछि अध्यक्ष मण्डल नरहने र पार्टीलाई अध्यक्ष प्रणालीमा अगाडि बढाउने निर्णय गरेको छ । पार्टी कार्यालय बबरमहलमा शरत्सिंह भण्डारीको  अध्यक्षतामा आइतबार बसेको केन्द्रीय अध्यक्ष मण्डलको बैठकले विधानको धारा ३१(१२) मा महाधिवेशनपछि पनि अध्यक्ष मण्डलको व्यवस्था रहने व्यवस्थाको ठाउँमा महाधिवेशनपछि अध्यक्ष मण्डल नरहने र पार्टी अध्यक्षीय प्रणालीमा अगाडि बढने व्यवस्था गरेको छ । 

बैठकले महाधिवेशन गर्ने मिति पनि एक वर्ष थप गरेको छ । धारा ३१(१०) मा यसअघि पार्टीको महाधिवेशन दुई वर्ष भित्र गरिनेछ भनिएकोमा समयावधि बढाएर तीन वर्ष भित्र गरिने भनिएको छ ।

धारा ३१(७) मा यसअघि पार्टीको कुनै पनि तह वा स्तरमा समितिहरू बनाउँदा राजपा नेपालमा एकीकृत ६ वटै दलको सम्बन्धित स्तरका कार्य समितिमा आपसी सहमतिको आधारमा मात्रै गठन गर्ने प्रावधान रहेकोमा सो उपधारा हटाइएको छ ।
धारा १० (ङ) मा यसअघि कुनै पनि तल्लो तहका निर्वाचित सदस्य, पदाधिकारीहरूलाई माथिल्लो तहमा उम्मेदवारी दिँदा आफ्नो तल्लो तहको पदबाट राजीनामा दिनुपर्ने व्यवस्था नरहेकोमा अब राजीनामा दिनु अनिर्वाय गरिएको छ ।

पार्टीको अध्यक्ष मण्डलको संयोजक चक्रीय प्रणालीअनुसार परिवर्तन हुने प्राबधानअनुसार सोमबारबाट अनिलकुमार झा राजपाको संयोजक हुने निर्णय गरिएको भण्डारीले बताए ।