लिभरपुलले जित्यो च्याम्पियन्स लिग फुटबलको उपाधि

होमल्याण्ड खबर

२०७६ जेष्ठ १९ गते, आईतवार ११:११ मा प्रकाशित

लिभरपुलले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । छैठौं पटक च्याम्पियन्स लिग फुटबलको उपाधि जित्ने क्रममा लिभरपुलले शनिबार राति टट्नहाम हट्सपरलाई २–० गोलले हरायो । 

खेलको दोस्रो मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै मोहमद सलाहले लिभरपुललाई अग्रता दिलाएका थिए । 

मोउसा सिसिकोले डिबक्स भित्र हेन्ड गरेपछि पाएको पेनाल्टीको अवसरलाई सलाहले गोलमा परिणत गरेका थिए । 

च्याम्पियन्स लिग फाइनलमा छिट्टो गोल गर्ने सालाह दोस्रो फुटबलर बनेका छन् । यसअघि सन् २००५ को फाइनलमा एसी मिलानका पाउलो माल्दिनीले लिभरपुलविरुद्ध ५० सेकेण्डमै गोल गरेका थिए ।

दोस्रो हाफमा मैदान छिरेका डिभोग ओरिगीले ८७ औं मिनेटमा गोल गरेपछि लिभरपुल २–० ले विजयी भयो ।