८ मंसिर २०८१, शनिबार
वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रा आज आइतबार मनाइँदैछ ।
रातो मच्छिन्द्रनाथको रथ थतीचोक लगनखेलबाट तानेर बिहीबार जावलाखेल पुर्याएको थियो । जावलाखेल पुर्याएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आइतबार भोटो देखाउन लागिएको हो ।
आइतबार साँझ ५ बजे देखाइने भोटोजात्रा समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित हुने कार्यक्रम रहेको छ । त्यस्तै, विशिष्ट व्यक्तिहरू उपस्थित हुने कार्यक्रम रहेको गुठी संस्थान ललितपुरले जनाएको छ ।
गुठी संस्थानका प्रमुख शैलेन्द्र पौडेलले राष्ट्रपतिको उपस्थितिमा भोटो देखाउनेछन् । यो जात्रा अवलोकन गर्न हजारौं सर्वसाधारण जाउलाखेलमा जम्मा हुने गर्दछन् ।
मणि, माणिक, रत्न आदि बहुमूल्य वस्तुजडित भोटो प्रत्येक वर्ष मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन सार्वजनिक रूपमा देखाउने प्रचलन छ ।
भोटोजात्रा सकिएपछि आइतबार मच्छिन्द्रनाथको मूर्तिलाई प्राचीन कलात्मक खटमा राखेर सांस्कृतिक बाजागाजासहित जावलाखेलबाट बुङ्मतीको मच्छिन्द्रबहाल पुर्याइन्छ ।
उपत्यककाको सबैभन्दा लामो जात्राका रुपमा परिचित मच्छिन्द्रनाथको रथजात्रा वैशाख शुक्ल प्रतिपदादेखि सुरु भएर झण्डै दुई महिनासम्म सञ्चालन हुने गर्दछ ।
भोटो जात्राको अवसरमा सरकारले आइतबार काठमाडौं उपत्यकामा सार्वजानिक बिदा दिएको छ ।