धर्म,संस्कृति र संस्कार मास्न खोजे सरकार मासिन्छः सांसद केसी

होमल्याण्ड खबर

२०७६ जेष्ठ २८ गते, मंगलवार १५:४७ मा प्रकाशित

नेपाली कांग्रेसका सांसद राजेन्द्र कुमार केसीले सरकारले धर्म र संस्कृतिमाथि प्रहार भएको खण्डमा उपत्यका घेराबन्दी गरिने चेतावनी दिएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद केसीले सरकारले ल्याउन लागेको गुठी विधेयकको विरोध गर्दै काठमाडौं उपत्यकाका विभिन्न धर्म र संस्कृतिमाथि प्रहार गर्ने काम भए सरकारले भयाबह परिस्थितिको सामना गर्नुपर्ने बताएका छन् ।

सांसद केसीले हिन्दु धर्म मात्र नभई बौद्ध,किराँतलगायतका धर्मका गुठीहरु रहेको भन्दै धर्म संस्कृति ध्वस्त पार्ने नियतले ल्याएको गुठी विधेयक तत्काल फिर्ता गर्न माग गरेका छन् ।

साथै सांसद केसीले कम्युनिस्टहरुले चाडपर्व, परम्परा, संस्कार,संस्कृति र सम्पदामा विश्वास नगर्ने कुराको चरितार्थ सरकारले ल्याएको गुठी विधेयकबाट भएको आरोप लगाएका छन् ।

सांसद केसीले भूमिसुधारमन्त्री पद्मा अर्यालले संविधानको गलत व्याख्या गरेको भन्दै संविधानलाई अक्षरस अध्ययन गर्न समेत आग्रह गरेका छन् ।

संविधानको धारा २६ मा धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आस्था अनुसारको धर्मको अबलम्बन र संरक्षणको स्वतन्त्रताको प्रत्याभुति गरिएको र धारा २ सय ९० मा गुठीको मुलभूत मान्यतामा प्रतिकूल असर नपर्ने गरि व्यवस्थापन गर्न उल्लेख गरिएको भन्दै धार्मिक गुठी संरक्षण गर्ने हक संविधानले दिएको सांसद केसीको दाबी छ ।