एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डमा चार विधाको मनोनयन सार्वजनिक

होमल्याण्ड खबर

२०७६ असार १० गते, मंगलवार १४:५९ मा प्रकाशित

एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड अन्तर्गत चारवटा विधाको मनोनयन आज (मंगलबार) सार्वजनिक गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले पत्रकार सम्मेलन गरेर वर्ष उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी तथा प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरेको हो ।

मनोनयनमा प्याराग्लाइडिङका युकेश गुरुङ, क्रिकेटका पारस खड्का र सोमपाल कामी, गल्फका शुक्रराज राई र जुडोका ईन्द्रबहादुर श्रेष्ठ परेका छन् । 

त्यस्तै, वर्ष महिला खेलाडीको मनोनयनमा फुटबलकी सावित्रा भण्डारी, भलिबलकी सरस्वती चौधरी, क्रिकेटकी सीता रानामगर, जुडोकी मनिता श्रेष्ठ र तेक्वान्दोकी निमा गुरुङ छन् । युवामा ब्याडमिन्टनका प्रिन्स दाहाल, एथलेटिक्सका अजितकुमार यादव, क्रिकेटका ललितनारायण राजवंशी, फुटबलकी मञ्जली योञ्जन र कराँतेका विजय श्रेष्ठ मनोनयनमा परेका छन् । 

त्यस्तै प्रशिक्षकमा प्याराग्लाइडिङका योगेश भट्टराई, क्रिकेटका जगत टमाटा, एथलेटिक्सका धनीराम चौधरी, भलिबलका ज्ञानेन्द्र विष्ट र फुटबलका हरि खड्का मनोनयनमा परेका छन् ।

मञ्चले यसअघि नै पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक गरिसकेको छ । एसएमएस भोटिङ, फेसबुक लाइक, आयोजक संस्थाका सदस्यको मत र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतका आधारमा चयन गरिने पिपल्स च्वाइसमा क्रिकेटका सन्दीप लामिछाने, ब्याडमिन्टनका प्रिन्स दाहाल, फुटबलकी रेश्मा भण्डारी र शारीरिक सुगठनका महेश्वर महर्जन मनोनयनमा रहेका छन् ।

वर्ष पुरुष खेलाडी, महिला, प्रशिक्षक र पिपल्स च्वाइस अवार्डको विजेताले बजाजको पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । अन्य विधाका उत्कृष्टले जनही ५० हजार नगदसहित गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।

पल्सर स्पोर्टस् अवार्डको मुख्य प्रायोजकका रुपमा हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिको पल्सर बाइक रहेको छ ।

यस्तै, मुख्य सहप्रायोजकको रुपमा किरण शु म्यानुफ्याक्चररको मुख्य उत्पादन गोल्डस्टार र सहप्रायोजक (पावर्ड बाइ) मा माडिस मिडिया नेटवर्क लिमिटेड रहेको छ । अवार्डको प्रत्यक्ष प्रशारण एभिन्युज टेलिभिजनले गर्ने सहमति भएको छ ।