नेपाल वायुसेवा निगमको व्यवस्थापनमाथि सरकारको विश्वास छैनः प्रधानमन्त्री ओली

होमल्याण्ड खबर

२०७६ असार १६ गते, सोमबार १६:४४ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल वायुसेवा निगमको व्यवस्थापनमाथि विश्वास नभएको बताएका छन् ।

निगमको ६१ औं वार्षिकोत्सवको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले ३७ अर्ब घाटामा रहेको नेपाल वायुसेवा निगमको व्यवस्थापनमाथि सरकारको विश्वास नरहेको बताएका छन् ।

साथै उनले नेपाल वायुसेवा निगमको सबै प्रकारको कामकारबाहीमा सुधार नभएको खण्डमा सरकार निगम सञ्चालनार्थ रणनीतिक साझेदार खोज्न बाध्य हुने बताएका छन् ।

वाइडबडी विमान चलाउनका लागि गन्तव्यको खोजी गर्न नसकेको भन्दै प्रधानमन्त्री ओलीले निगमले विमान सञ्चालन गर्न नसकेकोमा आक्रोश व्यक्त गरेका छन् ।

“निगममा रु ३७ अर्ब घाटा के कारणले, कसरी हुनपुग्यो, गम्भीर समीक्षा हुन जरुरी छ, कतै निगमकै कमजोरीका कारण यो अवस्था आएको हो कि ? अहिलेको सरकार चर्चा परिचर्चाबाट प्रेरित हुँदैन, जहाज किनेर त्यसै लडाउन ? मैदानभरि जहाज छन् तर आकासमा उड्दैनन् यस्तो अवस्था सधैँ रहिरहनु उचित हुन्न” भन्दै प्रधानमन्त्री ओलीले असन्तुष्टि पोखेका छन् ।