यसरी भयो प्रहरी र विप्लवको भिडन्त

होमल्याण्ड खबर

२०७६ असार २५ गते, बुधबार १२:०४ मा प्रकाशित

बुधबार एकाबिहानै नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच भिडन्त भएको छ ।

उक्त भिडन्तमा दुवै पक्षका २ जनाको मृत्यु भएको छ ।

यसरी भयो भिडन्त

नेकपा (विप्लव) समुहले भोजपुरका विभिन्न क्षेत्रमा संगठन बिस्तार सँगसँगै चन्दा संकलन लगायतका गतिविधीहरू जारी राखेको गोप्य सुचनाको आधारमा प्रहरीले सादा पोशाका प्रहरी हतियारसहित सम्भावित क्षेत्रमा विभिन्न समुहमा टोली परिचालन गरेको थियो ।

सोही क्रममा भोजपुर नगरपालिका—७ स्थित शनिबारे हटिया भन्ने स्थानमा सादा पोशाकका परिचालन भएको नेपाल प्रहरीका घुमुवा प्रहरी जवान संजिव राई र नेकपा (विप्लव) समुहका ओखलढुंगा जिल्ला इन्चार्ज निरकुमार राईबिच उक्त बजारमा जम्काभेट भएको थियो ।

इन्चार्ज निरकुमार भोजपुरमा रहेकी आफ्नी श्रीमती भेट्न गएको बताइएको छ । सोही क्रममा पूर्व चिनजान भएका प्रहरी जवान सञ्जिवलाई निरकुमारले देखेपछि नीरकुमारले नै पहिलो फायर खोलेको बताइएको छ ।

निरकुमारले चलाएको गोली लागेर प्रहरी जवान भुइमा ढलेपछी सादा पोशाकमा सँगै रहेका अर्का प्रहरीले नीरकुमारमाथी जवाफी कारबाही (प्रतिकार) स्वरूप गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

सो फायर पछि दुबै गम्भीर घाइते भएका थिए । उनीहरुलाई तुरुन्त अस्पताल लगिएपनि जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

सोही घटनामा प्रहरी जवान सोमनाथ भट्टराइ घाइते भएका छन् । भट्टराइको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले घटनास्थलबाट एउटा चाइनिज पेस्तोल र ६ राउण्ड गोलीसमेत बरामद गरेको बताएको छ ।

अहिले मृतक दुवैको शव जिल्ला अस्पतालमा नै रहेको छ।