१० मंसिर २०८१, सोमबार
इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज बिहीबार अष्ट्रेलिया र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ ।
बर्मिङघमस्थित एजबास्टोन रंगशालामा हुने यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ ।
दुवै टोली जित निकाल्दै फाइनलमा पुग्ने लक्ष्यसहित मैदान उत्रनेछन् ।
जारी विश्वकपको लिग चरण अन्तर्गत लर्डसमा खेलिएको खेलमा अस्ट्रेलियाले इंग्ल्याण्डलाई ६४ रनले हराएको थियो ।
अष्ट्रेलियाले सन् १९७५, १९८७, १९९६, १९९९, २००३, २००७ र २०१५ मा फाइनल पुगेको थियो । जसमा अष्ट्रेलिया सन् १९७५ र १९९६ मा मात्र उपविजेता बनेको थियो ।
बाँकी फाइनल उसले जितेको ईतिहास छ ।
इंग्ल्याण्ड यसअघि सन् १९७९, १९८७ र १९९२ मा फाइनल पुगेको थियो । तर तीनै पटक उपविजेतामा सिमित बनेको थियो ।
साविक विजेता अष्ट्रेलिया यस विश्वकपमा समुह चरणमा ९ म्याचमा ७ खेलमा जित र दुई खेलमा पराजय भोग्दै १४ अंक सहित दोस्रो स्थानमा रहेको थियो । इंग्ल्याण्ड ९ खेलमा ६ खेलमा जित र ३ खेलमा हार सहित १२ अंकसहित तेस्रो स्थानमा रहेको थियो ।
यस खेलको विजेताले उपाधिका लागि न्युजिल्यान्डसँग खेल्नेछ ।