९ बैशाख २०८२, मंगलवार
हिमालय एअरलाइन्सले धेरै समयदेखि पर्खाइमा रहेको काठमाडौं–ढाकाको सीधा उडान आगामी साउन ६ गतेदेखि सञ्चालनमा ल्याउने घोषणा गरेको छ । एअरलाइन्सले १५० इकोनोमी क्लास र ८ वटा प्रिमियम इकोनोमी क्लासको सिट क्षमताको न्यारो बडी जहाज ए ३२०–२१४ उक्त रुटमा सञ्चालनमा ल्याउनेछ । एयरलाइन्सँग नयाँ एयरबस ३२०–२०० को तीनवटा जहाज रहेको छ ।
व्यावसायिक तथा घुमघाम प्रयोजनका लागि बंगालाद जाने यात्रुहरुका लागि नयँा उडान तालिका सार्वजनिक गरिएको छ ।
नेपाली पयर्टनका लागि बंगलादेश ठूलो बजार हो, त्यसलाई लक्षित गर्दै बंगलादेशी पर्यटकलाई नेपालसम्मको पहुँच विस्तार यो सञ्जालको मुख्य प्राथमिकता हुनेछ । एअरलाइन्सले मध्यपूर्वी एशिया गन्तव्य स्थलहरु दोहा, दुबई, आबु धावी, दमामको नियमित उडानसँगै ढाकाको नयाँ उडानले बंगलादेशी सहित मध्यपूर्वी एशियाका यात्रुका लागि काठमाडौं एउटा ट्रान्जिट हबको विकल्प बन्नेछ । विशेषत दुई देश बीचको सम्बन्धलाई अझै मजबूत बनाउँदै सञ्जालले नेपाल र बंगलादेश बीच व्यावसायिक अवसरहरु सिर्जना गर्ने र मुख्यतः मध्यपूर्वी मुलुक र बांगलादेश बीच पूलको रुपमा सेवा प्रवाह गर्ने उपाध्यक्ष विजय श्रेष्ठले बताए ।
एअरलाइन्स्ले हप्ताको तीन दिन उपयुक्त समयमा ढाका उडान भर्नेछ, जसमा एच नाइन ६७८ काठमाडौंबाट स्थानीय समय ११ः१० मा उडान भर्नेछ र स्थानीय समय १३ः१० मा ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रनेछ । त्यसैगरि, एच नाइन ६७९ विमानले ढाकाबाट स्थानीय समय २ः१० मा उडान भर्नेछ र त्यही दिन काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ३ः२० मा उत्रनेछ । दुईतर्फी उडानमै प्रिमियम इकोनोमी क्लासमा २५ किलो सम्मको ब्यागेज निःशुल्क हुनेछ र इकनोमी क्लासमा २० केजीसम्मको लागि छुट हुनेछ । एअरलाइन्स्ले समयनिष्ठामा उडान सुनिश्चित गर्ने उद्देश्य राखेको छ । यसैबीच एअरलाइन्सले एसएयर एयर बीडी लिमिटेडलाई आफ्नो साधारण बिक्री एजेन्ट (जीएसए) को रुपमा नियुक्त गरेको छ । जसले बंगलादेशमा यस एअरलाइन्सको प्रतिनिधित्व गरी विक्री, बजारीकरण, बजार विकास, आरक्षण र टिकट सम्बन्धी सेवाहरु प्रदान गर्नेछ । नेपाल–चीन संयुक्त उद्यमका रुपमा सन् २०१४ अगष्टमा स्थापित हिमालय एअरलाइन्स अन्तर्राष्ट्रिय उडान सेवा उपलब्ध गराउँदै आएको एक निजी एअरलाइन्स कम्पनी हो ।