मलेसियासँगको ट्वान्टी-२० क्रिकेटका लागि नेपाल तयार

होमल्याण्ड खबर

२०७६ असार २७ गते, शुक्रबार १६:४९ मा प्रकाशित

मलेसिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले शनिबार घरेलु टोलीविरुद्ध पहिलो अन्तर्राष्ट्रिय ट्वान्टी-२० क्रिकेट खेल्दैछ ।

सिंगापुरमा हुन लागेको आईसीसी ट्वान्टी-२० विश्वकप एसिया छनोटको तयारीमा मलेसिया पुगेको नेपालले दुई अन्तर्राष्ट्रिय ट्वान्टी-२० क्रिकेट अन्तगर्त भोलि पहिलो खेल खेल्न लागेको हो । 

क्वालालम्पुरस्थित किन्रारा एकेडेमी ओभलमा नेपाली समयअनुसार खेल बिहान पौने ८ बजे सुरु हुनेछ । केही साताको अभ्यासपछि मलेसिया पुगेको नेपालको लक्ष्य मलेसियासँग जित र एसिया छनोट हुने हो । 

गत जनवरीमा युनाइटेड अरब इमिरेट्स ‘युएई’सँगको एकदिवसीय सिरिज र ट्वान्टी-२० सिरिजपछि नेपाल ट्वान्टी-२० क्रिकेट खेल्न लागेको हो । नेपाल आईसीसी वरीयतामा ११ औं स्थानमा छ भने मलेसिया ३५ औं स्थानमा छ । 

भारतीय उमेश पटवाल प्रशिक्षकमा नियुक्तपछि उत्साहित टोली ट्वान्टी-२० विश्वकप खेल्ने रणनितीसहित विदेश भ्रमणमा निस्किएको हो । नेपालले मलेसियासँग दोस्रो अन्तर्राष्ट्रिय ट्वान्टी-२० क्रिकेट आइतबार खेल्नेछ । 

कप्तान पारस खड्काको कप्तानीमा रहेको नेपाली टोलीमा उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, बसन्त रेग्मी, प्रदिप ऐरी, बिनोद भण्डारी र सोमपाल कामी छन् । सन्दीप लामिछानेसँगै दिपेन्द्रसिंह ऐरी, रोहित कुमार पौडेल, अभिनास बोहरा, करण केसी, ललितनारायण राजवंशी र पवन सर्राफ छन् ।