१० मंसिर २०८१, सोमबार
नेपालले मलेसियाविरुद्वको दुई अन्तर्राष्ट्रिय टी ट्वान्टी सिरिजमा ‘क्लिनस्वीप’ गरेको छ ।
आइतबार भएको दोस्रो खेलमा मलेसियालाई ६ रनले पराजित गर्दै नेपालले २–० ले सिरिज ‘क्लिनस्विप’ गरेको हो । पहिलो खेलमा शनिबार नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको थियो ।
१ सय ७४ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली मलेसिया २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६७ रन बनायो ।
मलेसियाका लागि शैयद अजीजले सर्वाधिक ५० रन बनाए ।यस्तै विरनदीप सिंहले २३, कप्तान अहमद फैजले १७, शफिक शरिफले १०, अनवार अरुदीनले ७, अमिनुद्दीनले २४ र मुहमद सहादतले अविजित २१ रन बनाए ।
नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले दुई दुई तथा करण केसी, पारस खड्का र अबिनाश बोहराले एक एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको नेपालले मलेसियासामु १७४ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको थियो ।
नेपालको लागि विनोद भण्डारीले अविजित रहँदै ५१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै शरद भेषवाकरले ४०, कप्तान पारस खड्काले २३, रोहित कुमार पौडेलले १९, करण केसीले १६ र पवन सर्राफले १० रन बनाए ।
मलेसियाका मुहमद फिर्टीले ३ तथा सैद अजिज र सर्विन मुनियनले समान एक विकेट लिए ।