२ मंसिर २०८१, आईतवार
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको जारी केन्द्रीय कार्यसमिति बैठकमा नियमावलीमा मात्रै केन्द्रित भएर छलफल भइरहेको जनाएको छ । पार्टीको आशन्न महाधिवेशनलगायतका विषयमा पनि छलफल भइरहेको समाचार विभिन्न सञ्चारमाध्यममा आएपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बैठक नियमावली संशोधन मस्यौदा समितिले पेश गरेको प्रतिवेदनमाथिको छलफलमा मात्रै केन्द्रित रहेको प्रष्टयाएका हुन् ।
उनले नियमावली पारित भएपछि मात्रै अन्य १३ वटा एजेण्डामा छलफल सुरु हुने बताए । पार्टी केन्द्रीय कार्यालय सानेपामा चलिरहेको बैठकमा केन्द्रीय सदस्यहरुले भ्रातृ संगठनहरुलाई नियन्त्रणमा राख्ने गरी नियमावलीमा प्रावधान आएको भन्दै आपत्ति जनाएका छन् । प्रवक्ता शर्माले बैठकमा केन्द्रीय सदस्यहरु बद्री पाण्डे, शिव हुँमागाई, वीरबहादुर बलायरलगायतका नेताहरुले नियमावलीका विषयमा केन्द्रित भएर आफ्नो धारणा राखेको जानकारी दिए ।
गत असार २२ गतेबाट सुरु भएको बैठकमा पार्टीको लेवी, पार्टीको सदस्यता नविकरण तथा वितरण, पार्टीको राष्ट्रिय जागरण अभियानको पहिलो चरणको कार्यक्रमको समिक्षा, केन्द्रीय अनुशासन समिति, नीति तथा प्रतिष्ठान समितिको कार्य प्रगति विवरणसहित देशका समसामयिक परिस्थितिका बारेमा पनि छलफल हुने कांग्रेसले जनाएको छ ।