२८ फाल्गुन २०८२, बिहीबार
भारतबाट पाइप लाइनको परीक्षणका लागि बुधबार पटनाबाट पेट्रोलियम पदार्थ पठाइएको छ ।
उक्त डिजेल बिहीबार साँझसम्म अमलेखगन्जमा आइपुग्ने पाइपलाइन परियोजनाका प्रबन्धक प्रदीपकुमार यादवले जानकारी दिए ।


परीक्षण गर्न पाइपमा पानी, तिग (पाइप सफागर्ने) र डिजेल हालेर पठाइएको उनले बताए ।
‘पाइपमा पानी, तिग र डिजेल हिजै हालिसकेको छ। उद्घाटनमा मेसिन अन गरेर डिजेल निकालिन्छ’, उनले भने ।
उनका अनुसार उद्घाटन भइसकेपछि व्यवसायिक रूपमा पाइपलाइनबाट पेट्रोलियम पदार्थ ल्याइने छ ।
साउन अन्तिममा पाइपलाइनको उद्घाटन गर्ने तयारी भइरहेको जानकारी छ ।
अमलेखगन्ज डिपोमा पाइपलाइनबाट आएको तेल भण्डारणका लागि ४ वटा ट्याङ्की राखिएका छन् । ती ४१ सय किलोलिटर क्षमताका दुई वटा र ३९ सय किलोलिटर क्षमताका छन् ।
पाइपलाइनबाट प्रतिघन्टा ३ सय किलोलिटर पेट्रोलियम पदार्थ आउने अपेक्षा गरिएको छ । पाइपलाइनबाट पेट्रोलियम पदार्थ भित्रिएपछि ढुवानीमा वार्षिक ७० देखि ८० करोड रूपैयाँ बचत हुने निगमले जनाएको छ ।