२ मंसिर २०८१, आईतवार
बिहीबार धनगढीको शहीद गेट नजिकै भएको शक्तिशाली विष्फोटमा नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहको संलग्नता रहेको पुष्टि भएको छ ।
शुक्रबार दिउँसो समूहको सेती–महाकाली ब्यूरो इञ्चार्जले निर्माणको नामबाट विज्ञप्ति जारी गर्दै पार्टी कामको सिलसिलामा आत्मसुरक्षाका लागि बोकेको विष्फोटक पदार्थ पड्किएको जनाएको हो । विज्ञप्तिमा पार्टीका रामबहादुर सिंह ‘राजेश’ ले सहादत प्राप्त गरेको पनि स्वीकारिएको छ । घटनामा अन्य चार जना घाइते छन् ।
घाइते कञ्चनपुरको बेलौरी–५ का लक्ष्मण सेरला, मोबिन खान, जितेन्द्र यादव र केशवराज पाण्डेको स्थानीय माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । उनीहरु मध्ये सेरलामा पनि विप्लव समूहकै कार्यकर्ता भएको दाबी गरिएको छ । यद्यपि, उनीमाथि विज्ञप्तिमा केही उल्लेख गरिएको छ ।
भनिएको छ, ‘विष्फोटमा परी घाइते हुनु भएका सर्वसाधारण नागरिकको स्वास्थ्यलाभको कामनासहित परिवारजनप्रति गहिरो सहानुभूति प्रकट गर्दछौं । घाइतेको उचित उपचारको व्यस्वस्था पनि पार्टीले गर्ने प्रतिबद्धतासहित अस्पताल परिवार र उपचारमा संलग्न स्वास्थ्यकर्मीमा घाइतेको उपचारमा कुनै पनि कमी हुन नदिन पार्टी विनम्र अनुरोध गर्दछ ।’