२ मंसिर २०८१, आईतवार
नेपाली कांग्रेसले २३ जनालाई कारबाही गर्ने भएको छ । सोमबार नेपाली कांग्रेस अनुशासन समितिले जारी गरेको विज्ञप्तिमा सोलुखुम्बु, रौतहट र दैलेखका गरेर २३ जनालाई कारबाही गर्ने जनाएको छ । बागी उम्मेदवारी दिएर पार्टीको आधिकारिक उम्मेदवारलाई कमजोर बनाएको आरोप लागेका सोलुखुम्बु, रौतहट र दैलेखका प्रायः सबै नेता कार्यकर्तामाथि कारबाही गरिएको छ ।
केन्द्रीय अनुशासन समितिको असार ३ गते बसेको बैठकले पार्टी विधानको धारा ३४ को उपधारा ४ बमोजिम कारबाही गरिएको कांग्रेसले जनाएको छ। साथै, कारबाही गरिएकाहरुको नामावली जिल्लाको अभिलेखबाट हटाउन पनि समितिले निर्देशन दिएको छ।
वि.सं. २०७४ मा भएका स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवारविरूद्ध बागी दिने, उम्मेदवारलाई हराउन भूमिका खेल्ने र अन्तर्घात गर्ने पार्टीका सदस्यलाई कारबाही गर्न कांग्रेसले निर्माण गरेको अनुशासन समितिले कारबाही सुरुगरेको छ । कांग्रेसले २०७४ सालको स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा अन्तर्घात गरेर पार्टीलाई पराजयको शिकार बनाएको भन्दै सोलुखुम्बुका २० जना,रौतहटका दुई जना र दैलेखका १ जनालाई कारबाही गरिएको अनुशासन समितिका संयोजक भीष्मराज आङ्देम्बेद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।