विप्लव समूह नियन्त्रणको नीतिबाटै वार्तामा आउँछः गृहमन्त्री थापा

होमल्याण्ड खबर

२०७६ श्रावण ७ गते, मंगलवार १४:१५ मा प्रकाशित

गृहमन्त्री रामबहादुर थापाले राजनीतिक उपलब्धिहरुको रक्षाका लागि नेत्रविक्रम चन्द ‘विप्लव’ समूह चुनौतीको रुपमा रहेको बताएका छन् । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले राखेका जिज्ञासाहरुको जवाफमा गृहमन्त्रीले सो समूहका कारण प्राप्त उपलब्धिको संरक्षणमा चुनौती बढेको बताए ।

विभिन्न संघर्षबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्नका लागि विप्लव समूह चुनौती बन्दै गएको गृहमन्त्रीको बुझाइ छ । गृहमन्त्री थापाले भने, ‘‘उनीहरुसँग वार्ता गर्न सरकार तयार छ । शान्तिपूर्ण रुपमा सबै समस्याको हल खोज्न सकिन्छ तर उनीहरु वार्ताका लागि तयार भएजस्तो लाग्दैन ।’’ विप्लव समूहबाट वार्ताका लागि औपचारिक प्रस्ताव नआएको थापाको भनाइ थियो । विप्लव समूहले पनि सरकारबाट वार्ताको औपचारिक पत्र नआएको बताउँदै आएको छ । वार्ता र नियन्त्रणको नीति सरकारले लिएको बताउँदै गृहमन्त्री थापाले नियन्त्रणको नीतिबाटै विप्लव समूह वार्तामा आउने दाबी गरे ।

गृहमन्त्री थापाले भने, ‘‘कानुनले, संविधानले विध्वंशात्मक गतिविधिलाई छुट दिन भन्दैन, नियन्त्रण नै गर्नुपर्छ भन्छ ।’’
गृह सचिव प्रेमकुमार राईले विप्लव समूह मूलधारमा राजनीतिमा आएपछि देशमा पूर्ण शान्ति हुने बताए । शान्ति सुरक्षा प्रदान गर्ने विषयमा सरकार सफल भएको उनको दाबी छ । यद्यपि पूर्ण रुपमा सन्तुष्ट नभएको उनको भनाइ थियो ।