१० मंसिर २०८१, सोमबार
सिंगापुरमा जारी आईसीसी टि–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपालले पहिलो जित दर्ता गरेको छ ।
बुधबार भएको दोस्रो खेलमा मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपालले पहिलो जित दर्ता गरेको हो ।
मलेसियाले दिएको ८४ रनको लक्ष्य नेपालले ८ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।
नेपालको जितमा कप्तान ज्ञानेन्द्र मल्लले कीर्तिमानी अर्धशतक बनाए । उनले ५१ रन बनाए ।
त्यस्तै प्रदिप सिंह ऐरीले १२, विनोद भण्डारी नटआउट १३ र दिपेन्द्र सिंह ऐरीले २ रन बनाए ।
मलेसियाका लागि मुहम्मद सहदायतले २ विकेट लिए ।
वर्षाले प्रभावित गरेपछि झन्डै ३ घण्टा ढिला सुरु भएको खेल ९ ओभरमा झारिएको थियो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले पुरै ९ ओभर खेल्दै ७ विकेट गुमाएर ८३ रन बनाएको थियो ।
मलेसियाका लागि सायद अजिजले ३०, भिरनदिप सिंहले २१, अहमद फैजले ९, अमीनीद्दीन रमलीले ५ र मोहम्मद शहदातले १ रन बनाए ।
नेपालका लागि सोमपाल कामीले ३, बसन्त रेग्मीले २ तथा सन्दीप लामिछाने र करण केसीले १र१ विकेट लिए ।