नेकपा संसदीय दलको आकस्मिक बैठक सुरु

होमल्याण्ड खबर

२०७६ श्रावण ८ गते, बुधबार १५:१६ मा प्रकाशित

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको संसदीय दलको आकस्मिक बैठक बसेको छ । बुधबार नयाँ बानेश्वरस्थित संसद भवनमा सुरु भएको बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेस र राजपाले बाढी, पहिरो, डुबान लगायत बारे जरूरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्ने विषयमा सभामुख सहमत देखिएपछि नेकपा संसदीय दलको बैठक बस्न लागेको उच्च स्रोतले जनाएको छ ।

बुधबार बिहान सभामुख कृष्णबहादुर महराले कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडसहित पुष्पा भुसाल ,दिलेन्द्र बडु र पार्वती डिसी चौधरी, सत्ता पक्षका तर्फबाट नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक देव गरूङ, राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादव र लक्ष्मणलाल कर्णसँग छलफल गरेपछि संसदको अवरोध खोल्न कांग्रेस–राजपा तयार भएको बताइएको छ ।

बुधबार सुरु हुन लागेको संसद बैठकमा कांग्रेस र राजपा गठबन्धन गरेपछि कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्न बैठक बसेको बुझिएको छ । पछिल्लो समय बाढी, पहिरो, डुबान लगायतका विषयमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्न नपाएको भन्दै कांग्रेस र राजपाले पटकपटक संसद बैठक अवरोध गर्दै आएका थिए।