उपनिर्वाचन मंसिरमा गर्न सुझाव

होमल्याण्ड खबर

२०७६ श्रावण १७ गते, शुक्रबार ०७:१५ मा प्रकाशित

विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले हाल रिक्त हुन आएका स्थानीय तह, प्रदेश र प्रतिनिधि सभा सदस्यको पदमा उपनिर्वाचन एकैपटक मंसिरमा गर्न सुझाव दिएको समाचार आजको गोरखापत्रले दोस्रो पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ, हाल तीन तहमा गरी ३६ जिल्लाको ५० पदमा उपनिर्वाचन गराउनुपर्ने छ ।

निर्वाचन आयोगले बिहीबार आयोजना गरेको राजनीतिक दलका पदाधिकारीहरुसँगको छलफलमा दलका प्रतिनिधिहरुमध्ये प्रायः सबै दलका प्रतिनिधिले तीनवटै निर्वाचन एकै दिन गर्नुपर्नेमा जोड दिएका थिए । केही दलका प्रतिनिधिले पहिलो प्रतिनिधि सभा, प्रदेश सभा र अन्तिममा स्थानीय तहको निर्वाचन गराउनुपर्ने धारणा पनि राखेका छन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले छलफलमा दलका प्रतिनिधिहरुले उपनिर्वाचनका लागि आगामी मंसिर महिना उपयुक्त हुने, रिक्त स्थानको निर्वाचन एकैचोटि गरिनुपर्ने र निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिएको जानकारी दिए ।