आज नागपञ्चमीः सर्प, अग्नि र चट्याङको भयबाट बच्न नाग पूजा

होमल्याण्ड खबर

२०७६ श्रावण २० गते, सोमबार ०८:३५ मा प्रकाशित

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको तस्वीरसहित पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदैछ ।

यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प, बिच्छी लगायतका जीवले दुःख नदिनाका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।

नाग पूजाको प्रचलन वैदिक कालदेखि नै शुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा बसेको हो ।

प्रत्येक घरमा नाग रहेका हुन्छन् । घरको जगमुनि बसेका नाग रिसाई गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासले पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आएको हो ।

नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातनकालदेखि नै छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको श्ययामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवान्लाई नागका रुपमा मान्ने गरिएको हो ।

श्रीकृष्णले बाल्यकालमै कालीनागको दमन गरेको प्रसङ्ग विभिन्न पुराणमा वर्णन गरिएको छ । भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनुभएका बुद्धको मूर्तिको शिरमा मुकुटाकारका रुपमा सर्पको आकृति रहेको हुन्छ ।

आज काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा विशेषरुपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटी लगायतका परिकार प्रसाद चढाउने गरिन्छ ।