२ मंसिर २०८१, आईतवार
उर्जामन्त्री वर्षमान पुन र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई जुम्लाका सांसद गजेन्द्रबहादुर महतले श्री ३ महाराज भएको आरोप लगाएका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा नेकपाका तर्फबाट सांसद रहेका महतले कार्यकारी निर्देशक घिसिङ र उर्जामन्त्री पुनको कार्यशैली श्री ३ महाराजको जस्तो भएको बताएका छन् ।
महतले संसदमा बोल्दै कर्णालीको जुम्ला जिल्लाको सदरमुकाम अँध्यारो छ, २०३८ सालमा बनेको २०० किलोवाटको बिजुली उत्पादन केन्द्र बिग्रेर थन्केको छ, तर श्री ३ महाराज कुलमान घिसिङ र अर्का श्री ३ महाराज वर्षमान पुनको फोन पनि उठ्दैन, भेटघाट पनि हुँदैन, भनेका छन् ।
उनले लामो समयदेखि जुम्लामा विद्युत आपूर्ति नभएको भन्दै आक्रोश पोखेका हुन् ।
उनले नेपालको बिजुली भारतमा बेच्छौं भनेर ठूला कुरा गरे पनि जुम्लामा बिजुली पुर्याउन नसकेको आरोप लगाएका छन् । जति आदर्शका कुरा सरकारले गरेपनि जहाँ कमिसन आउँछ त्यहीं मात्र सेवा विस्तार हुने भन्दै महतले आक्रोश पोखेका छन् ।
उनले ‘श्री ३ महाराज’हरुले कमिशन आउने ठाउँमा मात्रै सेवा विस्तार गर्ने गरेको विषय आफूले सुनेर र अहिले विश्वास लागेको बताएका छन् ।
उनले सरकारका मन्त्री र कार्यकारी निर्देशकले हामीले यति गर्यौं, उति गर्यौं भनेर कुर्ले पनि , इन्डियालाई बत्ती बेचेपनि अलिकति बत्ती कृपया जुम्लालाई बेचिदिनुस्, भन्दै सरकारलाई व्यंग्य गरेका छन् ।