२ मंसिर २०८१, आईतवार
नेकपाका सांसद विरोध खतिवडाले समाजवादी पार्टीका अध्यक्ष, सांसद तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई संसदमा बस्ने ठाउँ देखाइदिन सभामुखसँग माग गरेका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी सांसद खतिवडाले सदनको नियमको ध्यानाकर्षण गराउन चाहेको भन्दै भट्टराईलाई ठाउँ देखाइदिन आग्रह गरेका हुन्।
उनले भने, ‘मैले सदनको नियमलाई ध्यानाकर्षण गर्न खोजेको हुँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईजी, अहिले जहाँ बसिरहनुभएको छ । त्यही नै सही हो वा संसदले व्यवस्थापन ठीक नगरेको हो ? या उहाँले एकता प्रक्रियालाई सही गरेर इन्कार गरेको हो?’ साथै उनले थपे, ‘भट्टराईको पार्टी अहिले सरकारमा छ ।
यसकारण म सभामुखलाई अनुरोध गर्न चाहन्छु पूर्वप्रधानमन्त्रीज्युलाई बस्ने उपयुक्त व्यवस्था गर्दै ठाउँ देखाइदिनुस् ।’
सांसद खतिवडाले उठाएको प्रश्नको जवाफ दिँदै सभा सञ्चालन गरिरहेकी उपसभामुख शिवमाया तुम्बाहाम्फेले निर्वाचन आयोगबाट औपचारिक रुपले पत्राचार नभएकोले गर्दा डा. भट्टराईले पहिले बसरहेको स्थानमा बसिरहेको बताइन् ।