प्रधानमन्त्रीलाई सांसदको प्रश्न ‘हामी नै नबाचे तपाईंको रेल र पानीजहाज कसले चढ्ला ?’

होमल्याण्ड खबर

२०७६ श्रावण २२ गते, बुधबार १२:५७ मा प्रकाशित

प्रतिनिधिसभाको बैठकमा बुधबार शून्य समयमा बोल्दै सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद रंगमती शाहीले जनताहरु विषादीयुक्त तरकारी तथा फलफुल खान बाध्य भईरहेको भन्दै जनताको स्वास्थयप्रति संवेदनशील हुन प्रधानमन्त्रीको ध्यानाकर्षण गराइन् ।

‘विषादीयुक्त तरकारी खाएपछि विरामी भइन्छ भन्ने थाहा छ । प्रधानमन्त्रीज्यू, ‘तपाईं बिरामी भए हामीले उठाएको करबाट विदेशमा उपचार भइहाल्छ । हामी जनता बिरामी भए सिटामोल खान पाउँदैनौ । हामी जनता बाँचेपछि नै तपाईको रेल र पानी जहाज चढौँला । हामी नै बाँचेनौ भने तपाईको रेल र पानी जहाज कस्ले चढ्ला ? यो जनताको आवाज हो ।’ सांसद शाहीले प्रश्न गरिन् ।

सांसद मोहन बानियाँले जनप्रतिनिधिले सदनमा उठाएका आवाजको सम्बन्धित निकायबाट सुनुवाई नभएको भन्दै त्यसतर्फ सभामुखको गम्भीर ध्यानाकर्षण गराए ।
उनले विशेष र सुन्य समयमा उठेका आवाजको सम्बन्धित निकायबाट जिम्मेवारीपुर्वक सुनुवाई हुनुपर्ने भन्दै सभामुखमार्फत सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउन आग्रह पनि गरे ।

अर्की सांसद बिमला नेपालीले लोकसेवा आयोगले ९ हजारभन्दा बढी पदका लागि आव्हान गरेको विज्ञापन संविधान र प्रचलित कानुन बमोजिम नभएको भन्दै संसदीय समितिले आयोगलाई नीतिगत निर्देशन गर्दा पनि सुनुवाई नभएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराइन् ।

‘यसले जारी असन्तुष्टीलाई मलजल पुगी अर्को द्धन्द्ध निम्तने खतरा रहेको छ’ भन्दै उनले सरकार समानुपातिक र समावेशीको विरोधी हो भनी प्रश्न गरिन् ।
सांसद यज्ञराज सुनुवारले ओखलढुंगाका अधिकांश स्थान सुख्खाग्रस्त भई स्थानीय आक्रान्त बनेको भन्दै स्थायी समाधान खोज्न सरकारको ध्यानाकर्षण गराए ।