९ मंसिर २०८१, आईतवार
नेपाल टेलिकमले जीएसएम प्रिपेड ग्राहकका लागि घोषणा गरेको ‘नमस्ते क्रेडिट सेवा’ आजबाट शुरु गर्ने भएको छ । गत माघ २२ गते एक समारोहका बीच यसको सफ्ट लञ्च भएपनि आजबाट ग्राहकले सेवा लिन पाउनेछन् ।
ग्राहकलाई यो सेवा लिएबापत ब्याज वा कुनै शुल्क लाग्ने छैन । टेलिकमले आफ्नो १४औं वार्षिकोत्सवको अवसरमा यो सेवा सुरु भएको घोषणा गरेको थियो । आजबाट प्रिपेड कार्डबाहक ग्राहकले फोन गर्दा गर्दै पैसा सकिएमा पनि क्रेडिट लिएर फोन गर्न सक्नेछन् । शुक्रबार सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले विहान १० बजे सेवाको थालनी गर्ने कार्यक्रम छ ।
टेलिकमले ग्राहकले बिना पैसा कुरा गर्न पाएको समय बराबरको रकम भने पछि रिर्चाज गर्दा काट्ने व्यवस्था गरेको छ । नमस्ते क्रेडिट सेवा लिन प्रयोगकर्ताले आफूले कति रकम बराबरको सेवा लिन चाहेको हो त्यसको जानकारी आफ्नो मोबाइलमा स्टाटस टाइप गरी १४७७ मा पठाउनुपर्ने हुन्छ । सेवा लिन नचाहनेले स्टप टाइप गरी १४७७ मा एसएमएस पठाउन सक्नेछन् । यो सुविधा टेलिकमको प्रिपेडमा मात्रै लागू गरिएको छ । नेटवर्कमा सीम ‘एक्टिभ’ भएको तीन महिना पुगेकाले मात्रै यो सेवा पाउनेछन् ।