२ मंसिर २०८१, आईतवार
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कर्मचारी भ्रष्टचारी हुन्छन् भन्ने आम जनताको बुझाई हटाउन कर्मचारी नै लाग्नुपर्ने बताएका छन् । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा कार्यालय प्रमुखलाई निर्देशन दिँदै सञ्चारमन्त्री बाँस्कोटाले जनताका काम छिटोछरितो सम्पादन गर्न अर्घाखाँचीका कर्मचारीलाई निर्देशन समेत दिएका छन् ।
मन्त्री बाँस्कोटाले नेपाल सरकार भ्रष्टाचारलाई उन्मूलन पार्ने दिशामा अगाडि बढेको भन्दै भ्रष्टाचारलाई बढावा दिने कसैलाई पनि सरकारले नछाड्ने बताएका छन् । साथै जनताको विश्वास र जनमतलाई आधार मानेर सरकारले काम गरिरहेको र समाजमा व्याप्त कूरीतिको अन्त्य गर्न सरकार निरन्तर लागिरहेको बताएका छन् ।
निर्देशन कार्यक्रममा बोल्दै बाँस्कोटाले देशमा राजनीतिक क्रान्ति सम्पन्न भएको र अबको पाँच वर्षभित्र देशको विकास हुने बताएका छन् । ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियान लाई सफल बनाउन कर्मचारीको महत्वपूर्ण भूमिका भएको भन्दै सरकारलाई सहयोग गर्न आग्रह गरेका छन् ।