देशैभर पठाइएको प्रचण्डको आन्तरिक सर्कुलरमा के छ ?

होमल्याण्ड खबर

२०७६ भाद्र १३ गते, शुक्रबार १६:१९ मा प्रकाशित

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशैभरका पार्टी कमिटीमा पुग्नेगरी आन्तरिक सर्कुलर जारी गरेका छन् ।

निर्देशनात्मक सर्कुलरमा जिम्मेवारी पाएका विभागीय नेता, प्रदेश र जिल्लाका नेताले पार्टीका कार्यक्रमलाई प्रभावकारिताका साथ जनतामा पुर्याउन भनिएको छ ।

१७ बुँदे निर्देशनात्मक सर्कुलर जारी गर्नुको उद्देश्य गणतन्त्रविरोधीले समाजमा भ्रम, अतिरञ्जना फिँजाएको र पार्टी नेतृत्वको सरकारविरोधी धारणा बनाउन बल पुगिरहेकाले त्यसलाई चिर्नु रहेको नेकपा स्रोतले जनायो ।

सरकार, नेकपाविरोधी भावना बढाउनका लागि गणतन्त्रविरोधी तथा तिनलाई अस्थिरता, अराजकता चाहने शक्तिको सहयोग रहेको पार्टीले ठहर गरेको सर्कुलरमा उल्लेख गरिएको छ ।

अहिले सरकारको आलोचना गर्नका लागि यस्तै अस्थिर सोचमा जोडबल गर्न प्रतिपक्षी नेपाली कांग्रेसलाई पनि सजिलो भएको नेकपाको बुझाई छ ।

पार्टी एकीकरण भएपछिको १५ महिनामा यो दोस्रो पटक नेतृत्वले सर्कुलर जारी गरेको हो । एकताको काम बाँकी रहेका कारण अघिल्ला सर्कुलर त्यति प्रभावकारि नभए पनि यसपटक भने जिम्मेवारी लिएका नेताले जिल्ला जानै पर्ने निर्देशन दिइएको छ ।