२ मंसिर २०८१, आईतवार
नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई हराउनेहरुमाथि कारबाही गरेरै छाड्ने बताएका छन्।
शुक्रबार भक्तपुरमा नीति तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी हराउन लाग्नेलाई कारबाही गरेरै छाड्ने र कसैले रोक्न खोजे उनीहरुलाई आफैंले पार्टी कार्यकर्ता र जनताका अगाडि सार्वजनिक गर्ने बताएका हुन् ।
अन्तरघात गर्नेहरुलाई कारबाही नगरे फेरि पनि कांग्रेस हार्ने भन्दै देउवाले भने, पार्टी किन हार्यो हिजो ? पार्टीमा साँच्चै एकता छ र एकता हुँदाहुँदै हारेको हो ?’
अन्तरघातबाट पार्टीलाई मुक्त गर्नुपर्ने भन्दै उनले भने, ‘अन्तरघात गर्ने, पार्टीलाई हराउने माथि कारबाही गर्न खोज्दा कसले रोक्दोरहेछ, त्यसको अनुहार पनि बाहिर आउँछ ।
यही हो त्यो अनुहार भनेर म नै बाहिर ल्याउँछु ।’ उनले फेरी दोहोराए, ‘कारबाही हुन्छ हुनुपर्छ र गर्छु पनि ।’
साथै उनले भक्तपुरको एक प्रदेशमा उप निर्वाचन हुन लागेकोले सम्पूर्ण भक्तपुर कांग्रेस एक भएर अगाडि बढ्नुपर्ने र यो क्षेत्र जितेरै छाड्ने र केन्द्रबाट गर्नुपर्ने सम्पूर्ण सहयोग रहने समेत सम्बोधनका क्रममा व्यक्त गरे ।