नेपालद्वारा श्रीलंकालाई १६० रनको लक्ष्य

होमल्याण्ड खबर

२०७६ भाद्र २० गते, शुक्रबार १४:५१ मा प्रकाशित

नेपालले एसिसि यू–१९ एसिया कप क्रिकेटमा घरेलु टोली श्रीलंकासामु १६० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । समूह बी अन्तर्गतको पहिलो खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ४२ ओभरमा ९ विकेटको क्षतिमा १६० रनको लक्ष्य दिएको हो ।

वर्षाले ४२ ओभरमा घटाइएको खेलमा नेपालका लागि रित गौतमले अर्धशतक बनाउँदा कप्तान रोहित कुमार पौडेल ४७ रनमा पवेलियन फर्किए । ७ खेलाडीले दोहोरो रन बनाउन सकेनन् । ८६ बलको सामना गरेका रित ५४ रनमा नाभोद दिनुश्रीको बलमा दिलसन मादुसङकमार्फत् क्याच भए । ३ रनले अर्धशतक बनाउन चुकेका रोहित आसियन ड्यानियलको बलमा क्याच भएका थिए ।

सुरुआती दुई विकेटपछि दबाबमा परेको नेपालको इनिङ्स रित र रोहितले उकासेका थिए । वर्षाले खेल प्रभावित हुनुपूर्व नेपालले ९ ओभरको समाप्तिमा २ विकेट गुमाइसकेको थियो । जसमा ओपनर पवन सराफ ४ तथा मोहम्मद आसिफ शेख ७ रनमा पवेलियन फर्किएका थिए । पवन ४ रनमा दिलसन मदुसङकको बलमा कमिल मिश्रामार्फत् क्याच भए । आसिफ ७ रनमा मदुसङकको बलमा बोल्ड भए । रासिद खान १५ रनमा अविजित रहँदा हरि चौहानले १२ रन बनाए । भिम सार्की १ रनमा एलबिडब्लु धरापमा परे । कुसल मल्ल  र कमल सिंह ऐरीले २–२  रन बनाउँदा सागर ढकाल र सूर्य तामाङले १–१ रन जोडे ।

श्रीलंकाका नभोद दिनुश्री र दिलसन मदुसङकले ३–३ विकेट लिए । आसियन ड्यानिल, रोहन सन्जय सिल्भाको नाममा १–१ विकेट रह्यो । श्रीलंकाले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । नेपाली युवा टोली टेष्ट मान्यता प्राप्त श्रीलंकाविरुद्ध सुखद सुरुआत गर्ने लक्ष्यमा छ ।