१४ मंसिर २०८१, शुक्रबार
नेपालमा पहिलो पटक निजी क्षेत्रबाट विद्युतीय बस सञ्चालनमा आएको छ । सोमबारबाट सुन्दर यातायात प्रालिले पहिलो पटक विद्युतीय बस सञ्चालन गरेको हो ।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, नेपाल आविष्कार केन्द्रका संस्थापक महावीर पुन र सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले विद्युतीय बसको औपचारिक रुपमा उद्घाटन गरेका छन् ।
चीनको बिएके कम्पनीबाट खरिद गरी ल्याएको दुईवटा विद्युतीय बस सोमबारबाट सञ्चालनमा आएका छन् । “यातायात व्यवस्था विभागमा दर्ता गर्न र नम्बर प्लेट लिन एक–दुई दिन लाग्ने देखिएको छ । नम्बर लिएपछि चक्रपथमा बसमा सञ्चालन गरिने छ,” अध्यक्ष थापाले भने, “जेष्ठ नागरिक, फरक क्षमता भएका, विद्यार्थी र बालबालिकाका लागि भाडामा विशेष छुट दिइनेछ ।”
सोमबार उद्घाटन गरिएका बसमा एउटामा ३५ र अर्कोमा ४० सीट रहेको छ । उभिएर एउटा बसमा ६५ देखि ७० यात्रु अटाउन सक्ने कम्पनीले बताएको छ । चार्जिङका लागि भत्केको पुल, सीतापाइला र सुकेधारामा चार्जिङ स्टेशन स्थापना गरिएको छ ।
करिब २ घण्टामा एउटा बस फुल चार्ज गर्न सकिने र एक पटकको चार्जले करिब ३ सय किमिसम्म सञ्चालन हुने बताइएको छ । विद्युतीय बस सञ्चालनका हिसाबले अन्य बसभन्दा सस्तो पर्ने छ ।
“सरकारले तोकेको भाडादरमा सेवा सञ्चालन गरिने छ । नेपालमा पहिलो पटक सञ्चालनमा आएकाले यसको सञ्चालन र नियमका लागि आवश्यक नीति, नियम बनाउनका लागि सम्बन्धित निकायसँग हामीले माग गरेका छौं,” थापाले भने ।