दोषीलाई कारवाही नभए ७७ वटै जिल्लाबाट आन्दोलनको आँधीबेहरी ल्याउँछौंः दूर्लभ थापा

होमल्याण्ड खबर

२०७६ भाद्र २७ गते, शुक्रबार १५:०० मा प्रकाशित

नेपाली कांग्रेस भक्तपुर सभापति दुर्लभ थापाले कांग्रेसमाथिको आक्रमण लोकतन्त्रमाथिको आक्रमण भएको भन्दै ७७ वटै जिल्लाबाट आन्दोलनको आँधीबेहरी ल्याउने बताएका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको पत्रकार सम्मेलनका क्रममा बोल्दै बाँके कांग्रेस सभापति किरण कोइराला लगायतका कार्यकर्तामाथि भएको आक्रमणको घोर निन्दा गर्दै यस्तो बताएका हुन् ।

उनले भने, ‘नेपाली कांग्रेसमाथि जसरी आक्रमण गरिएको छ र्यो हामीलाई सह्य छैन । दोषीलाई कारवाही नभए ७७ वटै जिल्लाबाट जागरण अभियानकै क्रममा आन्दोलनको आँधीबेहरी ल्याउँछौं ।’

कांग्रेसले घटनाको विरोधमा भोलि बिहान गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउनुका साथै दिउँसो तीन बजे काठमाडौंको माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गर्ने बताएको छ ।

पार्टी केन्द्र र देशभरका जिल्ला सभापतिको प्रतिनिधित्व गरेर उपत्यकाका तीनै जिल्ला सभापतिले ज्ञापनत्र बुझाउने रहेको प्रवक्ता विश्वप्रकाश शमाले जानकारी दिए ।

बिहीबार नेपाली काङ्ग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानअन्तर्गत बाँकेको सीतापुरस्थित रेडक्रसको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा सहभागी भएका सभापति किरण कोइराला लगायतका काङ्ग्रेस कार्यकर्तामाथि युवाहरुको समूहले मञ्चमै पुगेर आक्रमण गरेको थियो । आक्रमणबाट सभापति कोइरालाको बायाँ हात भाँच्चिएको छ ।

घटनाको विरोधमा आज नेपालगन्जमा कांग्रेसले प्रदर्शन गरेको छ ।