साफ यू–१८ फुटबलः आज माल्दिभ्स र भुटान भिड्दै

होमल्याण्ड खबर

२०७६ आश्विन ७ गते, मंगलवार १०:११ मा प्रकाशित

नेपालमा जारी तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिप फुटबलमा आज मंगलबार भुटान र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदैछ ।  हलचोकस्थित शसस्त्र प्रहरी बल एपीएफको मैदानमा हुने भुटान र माल्दिभ्सबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

भुटान यस अघि नै सेमिफाइनल पुगिसकेको छ । अब माल्दिभ्स र नेपाल मध्ये एक टिम सेमिफाइनलमा पुग्नेछन् । आजको खेलमा माल्दिभ्सले भुटानलाई हराउँदै सेमिफाइनलमा पुग्न चाहन्छ ।

समूह ए मा रहेको भुटान र माल्दिभ्सबीचको खेल नेपालका लागि सबैभन्दा बढी महत्वपूर्ण रहेको छ । यस खेलले नेपालको सेमिफाइनल समिकरण तय हुनेछ । नेपालको सेमिफाइनल सम्भावना अंक गणितीय रुपमा बाँकी रहेको छ । यदि माल्दिभ्स र भुटान बराबरीमा रोकिएमा नेपाल समूह चरणबाटै आउट हुनेछ ।

नेपाल सेमिफाइनल पुग्ने सम्भावना भने झिनो जस्तै रहेको छ । नेपाल सेमिफाइनल पुग्न भुटानले माल्दिभ्सलाई कम्तीमा ४–० गोलको जित निकाल्नु पर्ने हुन्छ ।

एक खेल खेलेको भुटानको ३ अंक रहेको छ । एक नै खेल खेलेको माल्दिभ्सको १ अंक रहेको छ । दुई खेल खेलेको आयोजक नेपालको १ अंक रहेको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा माल्दिभ्ससँग १–१ गोलको बराबरी खेलेको नेपाल दोस्रो खेलमा भुटानसँग ३–० गोलले पराजित भएको थियो ।