आजदेखि दसैंका लागि नयाँ नोट साट्न पाइने, कहाँ कहाँ छ यो सुविधा !

होमल्याण्ड खबर

२०७६ आश्विन १० गते, शुक्रबार १०:५२ मा प्रकाशित

नेपाल राष्ट्र बैंकले दसैंका लागि आजदेखि नयाँ नोट साट्न लागेको छ ।

चाड पर्वमा पूजाका लागि प्रयोग हुने भेटी तथा आफन्तलाई दिने दक्षिणामा नेपाली हिन्दु धर्माबलम्बीले नयाँ नोटको प्रयोग गर्ने परम्परागत प्रचलनलाई ध्यान दिएर यस वर्ष राष्ट्र बैंकले १३ अर्ब रुपैयाँ नयाँ नोट बजारमा ल्याउन लागेको हो ।

सर्वसाधारणको लागि राष्ट्र बैंकले प्रतिव्यक्ति अधिकतम् २७ हजार रुपैयाँसम्म मात्र साट्ने ब्यवस्था मिलाएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोटको सटही खुला गरेको हो । राष्ट्र बैंकका अनुसार राष्ट्रिय बाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकका विभिन्न शाखा कार्यालयबाट आजदेखि असोज १७ गतेसम्म नयाँ नोट साट्न सकिनेछ ।

आफ्नो खाता भएका बैंक तथा वित्तिय संस्थाबाट पनि सीमित मात्रामा नयाँ तथा सुकिलो नोट सटही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको थापाथली कार्यालयबाट नयाँ नोट सटही गर्न पाइनेछ।

नेपाल बैंकको न्यूरोड, कीर्तिपुर, महाराजगन्ज, जोरपाटी, पाटन औधोगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट नयाँ नोट सटही हुने भएको छ । त्यस्तै राष्ट्रिय वाणिज्य बैंकका सिंहदरवार प्लाजा, टेकु, नयाँ बानेश्वर, सानो थिमी, बिशालबजार, नक्साल, कलंकी तथा बालाजु शाखाबाट सटही हुनेछ ।

कृषि विकास बैंकका गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क, स्वयम्भु तथा मंगलबजार शाखाबाट नयाँ नोट वितरण हुने राष्ट्र बैंकले जनाएको छ ।

उपत्यकाबाहिर राष्ट्र बैंकका बिराटनगर, जनकपुर, विरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज तथा धनगढी शाखा कार्यालयबाट नोट सटही हुनेछ।